राष्ट्रिय खेलाडी मजदुरीका लागि विदेशिँदै …

दुई वर्षअघिसम्म मनाङ मर्स्याङ्दीका मिडफिल्डर शिव श्रेष्ठले नेपाली फुटबलमा होनहार खेलाडीको छवि बनाएका थिए । उनी राष्ट्रिय खेलाडी जन्माउने एन्फा एकेडेमीका उत्पादन हुन्। त्यसैले उनीबाट देशले ठूलो आशा राखेको थियो । सबैको आशा अनुरुप उनी राष्ट्रिय टोलीमा चाँडै पनि परे । तर, उनको फुटबल करिअर लामो समय टिक्न सकेन।
देशभित्र बिग्रँदो फुटबल महौलका बीच उनी विदेशिन बाध्य भए ।

शिव एक्लो अभागी फुटबल खेलाडी होइनन्, जो राम्रो क्षमता भएर पनि विदेशिन बाध्य भए । नेपाली फुटबलमा भविष्य नदेखेपछि विदेशिने खेलाडीको संख्या पछिल्लो दुई वर्षमा २४ पुगिसकेको छ।
दुःखको कुरा, देशका लागि मैदानमा आफ्नो ज्यानको बाजी लगाउने यी खेलाडीमध्ये आधाजति खाडीको तातो हावामा पसिना बगाइरहेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न बहानामा विगत दुई वर्षदेखि ‘ए’ डिभिजन लिग गर्न सकिरहेको छैन। यस्तो अवस्थामा खेलाडी पलायन हुनुलाई स्वाभाविक मान्न सकिन्छ।
हाल कतारमा मात्र ७ फुटबल खेलाडी मजदुरी गरिरहेका छन् । मनाङ मर्स्याङ्दीका कप्तान शिव नेपाली फुटबलको भविष्य अन्धकार भएको निस्कर्षमा पुग्दै कतार जान बाध्य भए।
लुम्बिनी एएफसीबाट राष्ट्रिय लिग खेलेका अमिर श्रेष्ठ पनि विगत दुई वर्षदेखि कतारमा छन्। अमिरकै सल्लाहमा शिव पनि कतार गएका थिए।
हाल कतारमा ‘हेभी इक्विमेन्ट एक्स्ट्राभेटर’ चलाउने काम गरिरहेका अमिरले नेपालको यू–२३ टोलीबाट खेलिसकेका थिए। अमिरले परिवार पाल्ने जिम्मेवारी आफ्नो काँधमा आइपरेको हुनाले विदेशिनुपरेको बताए । उनले नेपाल लाइभसँग भने, ‘घरमा सबै व्यवहार आफैं सम्हाल्नुपर्छ । नेपालमा फुटबलको भविष्य नदेखेपछि आमा–बुबा, श्रीमती र पाँच वर्षकी छोरी छाडेर कतार आएको हुँ।’
नेपालमा २०७२ सालमा राष्ट्रिय लिग सम्पन्न भएयता फुटबल लिग हुन सकेको छैन । लिग नहुँदा त्रिभुवन आर्मी र नेपाल पुलिस र सशस्त्र प्रहरीबाहेक अन्य सबै क्लबका खेलाडी बेरोजगार छन्।
आरसिटीबाट ‘ए’ डिभिजन खेलेका सगुन श्रेष्ठ, त्रिभुवन आर्मी क्लबका रामकुमार विश्वास, फ्रेन्ड्स क्लबका अर्जुन सुब्बा र झापा एफसीबाट राष्ट्रिय लिग खेलेका गणेश खड्का पनि हाल कतारमा मजदुरी गरिरहेका छन्।
आर्मीबाट रिटायर्ड भएपछि रामकुमार कतार पुगेका हुन् । यी खेलाडीमध्ये गणेश सबैभन्दा पछि कतार पुगेका थिए । कतार उड्नुअघि उनले एनआरटीबाट ‘बी’ डिभिजन लिग खेलेका थिए । उनी पनि एन्फा एकेडेमीका उत्पादन हुन् । उनले देशमा रहँदा हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी हुँदै नेपाल पुलिस क्लबबाट समेत लिग खेलेका थिए।
खाडी मुलुक युएईमा आरसिटीका बादल घिसिङ र सरस्वती युवा क्लबका रमेश घिसिङ मजदुरी गरिरहेका छन् । एपिएफबाट लिग खेलेका कृष्ण लामा युएई पुगे पनि प्राविधिक कारणले नेपाल फर्किएका छन् । एपिएफबाट लिग खेलेका अर्का खेलाडी कोभित कार्की फुटबलको करिअर त्याग्दै रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । कार्की फुटबलमा भविष्य नदेखेपछि कोरियन भाषा परीक्षा पास गर्दै कोरिया पुगेका थिए।
अस्ट्रेलियामा भने हाल पाँच फुटबल खेलाडी कार्यरत छन् । फुटबल करिअर छोडेर अस्ट्रेलिया पुग्नेमा युडी गुरुङ (संकटा), विवेकप्रताप पन्त (आर्मी), अनिल ओझा (थ्री स्टार), सुलभ मास्के (मनाङ मर्स्याङ्दी) र जगजित श्रेष्ठ (थ्री स्टार) छन्। विवेक र सुलभ उमेर समूहमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । अनिल र जगजित राष्ट्रिय टोलीका मिडफिल्डर थिए।
सिनियर टोलीका फरवार्ड सन्तोष साहुखल पनि फुटबल करिअर त्यागेर दुई वर्षअघि जापान पुगेका थिए। उनले नेपाली फुटबलमा नफर्किने स्पस्ट पारिसकेका छन् । उनी बेलाबेला देश फर्किरहन्छन्।
श्रीमतीलाई अमेरिकाले बर्सेनि सार्वजनिक गर्ने ‘डिभी’ चिट्ठा परेपछि हिमालयन शेर्पाका धीरज तामाङ अमेरिका पुगेका छन् । यस्तै, मच्छिन्द्र क्लबबाट खेलिरहेका अजय विक पनि हाल पोल्यान्डमा छन्।
एन्फा एकेडेमीका ४ युवा खेलाडी सुरक्षित भविष्य खोज्दै विदेशी सेनामा भर्ती भएका छन् । जसमा किरण सुनार, अनिल राई र विकास थापा भारतीय सेनामा भर्ती भएका छन् । किरणले एएफसी यू–१६ च्याम्पियसिपमा उज्वेकिस्तान विरुद्ध गोल गरेका थिए। उनको गोलका कारण नेपालले खेल १–१ गोलको बराबरी राखेको थियो । उनी पछिल्लो पटक मनाङ मस्र्याङ्दीमा आबद्ध थिए।
जावलाखेलबाट लिग खेलेका नवीन गुरुङ पनि भारतीय आर्मीमै भर्ती भए । एन्फा एकेडेमीका उत्पादन अकाश थापामगर पनि फुटबलमा करिअर नदेखेपछि लाहुरे बने । उनी हाल ब्रिटिस आर्मीमा छन्।
पछिल्लो केही वर्षयता नेपाली फुटबलमा भविष्य नदेखेर खेलाडीहरु विदेशिने क्रम बढेको ‘गोल नेपाल डट कम’ का संस्थापक तथा खेल पत्रकार विक्रम थापा बताउँछन्।
‘एक–दुई बाहेक अधिकांश खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन्,’ थापाले नेपाल लाइभसँग भने । उनको दाबी छ, फुटबलमा भविष्य नदेख्नुको मुख्य कारण सयममा लिग नभएर हो।
‘नियमित लिग भयो भने मात्र खेलाडीको रोजीरोटी चल्ने हो । यहाँ केही वर्षदेखि लिग नै भएको छैन् । खेलाडीहरु रोजीरोटीका लागि विकल्प खोज्छन नै,’ थापाले भने।
तर, एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ केही खेलाडी विदेशिनुलाई खासै चिन्ताको विषय ठान्दैनन् । भन्छन्, ‘हामीले बुझेअनुसार ५–७ जना मात्र खेलाडी बाहिरिएका छन् ।’ लिग नहुँदा भने खेलाडीलाई स्वाभाविकरुपमा अप्ठेरो परेको उनी स्वीकार गर्छन् । यसका लागि आफूले दीर्घकालीन उपायको खोजी गरिरहेको उनको दाबी छ।
उनी भूकम्प र राजनीतिक अवस्थाका कारण बीचमा लिग गर्न कठिनाई भएको तर्क गर्छन् ।
पछिल्लो समय नेपाली फुटबलमा देखिएको गुटबन्दीका कारण नेपाली फुटबल प्रभावित बन्दै गएको छ। अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाको रुपमा नेपाली फुटबलमा स्पस्ट दुई गुट देखिएको छ।
नेपाली फुटबलमा देखिएको गुटबन्दी र बेथितिका कारण विदेशिएका सबै खेलाडी मर्माहत छन् । कतारमा रहेका अमिर श्रेष्ठ फुटबल त्यागेर कामका लागि विदेशिनुपर्दा मन पोल्ने गरेको बताउँछन् ।, उनी नेपाली फुटबलको नेतृत्वकर्तालाई व्यक्तिगत लाभभन्दा पनि समग्र फुटबलको विकासमा लाग्न आग्रह गर्छन्।
दुई वर्षमा को–को फुटबलर विदेशिए ?
शिव श्रेष्ठ – मनाङ मर्स्याङ्दी क्लब – कतार
अमिर श्रेष्ठ – लुम्बिनी एफसी – कतार
सगुन श्रेष्ठ – आरसिटी – कतार
रामकुमार विश्वास – त्रिभुवन आर्मी क्लब – कतार
अर्जुन सुब्बा – फ्रेन्ड्स क्लब – कतार
गणेश खड्का – झापा एफसी – कतार
बादल घिसिङ – आरसिटी – यूएई
रमेश घिसिङ – सरस्वती युवा क्लब – यूएई
कोभित कार्की – एपिएफ – दक्षिण कोरिया
युडी गुरुङ – संकटा क्लब – अस्ट्रेलिया
विवेक प्रताप पन्त – त्रिभुवन आर्मी क्लब – अस्ट्रेलिया
सुलभ मास्के – मनाङ मर्स्याङ्दी क्लब – अस्ट्रेलिया
अनिल ओझा – थ्री स्टार क्लब – अस्ट्रेलिया
जगजित श्रेष्ठ – थ्री स्टार क्लब – अस्ट्रेलिया
धिरज तामाङ – हिमालयन शेर्पा – यूएसए
सन्तोष साहुखल – थ्री स्टार – जापान
अजय विक – मच्छिन्द्र क्लब – पोल्यान्ड
किरण सुनार – एन्फा एकेडेमी – इन्डियन आर्मी
अनिल राई – एन्फा एकेडेमी – इन्डियन आर्मी
विकास थापा – एन्फा एकेडेमी – इन्डियन आर्मी
नवीन गुरुङ – जावलाखेल युथ क्लब – इन्डियन आर्मी
आकास थापा मगर – एन्फा एकेडेमी – ब्रिटिस आर्मी
निरज बस्नेत – मोरङ एफसी –कतार (फर्किएको)
कृष्ण लामा – एपिएफ – यूएई (फर्किएको )
नेपाललाइबबाट 
राष्ट्रिय खेलाडी मजदुरीका लागि विदेशिँदै … राष्ट्रिय खेलाडी मजदुरीका लागि विदेशिँदै  … Reviewed by Anish Lamichhane on 9:19 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.