यु १९ एसिया कप छनौट क्रिकेट : नेपाललाई उपाधि जित्ने अवसर

नेपालले १९ वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत सोमबार भएको खेलमा प्रभावशाली जित निकाल्दै राम्रो सुरुवात गरेको छ । नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हराएको हो । 
नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन यादव र शहाब आलमले एक-एक विकेट लिए । २ सय ८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याण्डले १० ओभरमा २६ रन बनाउँदा सबै विकेट गुमायो । थाइल्याण्डका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  
टस हारेर पहिले ब्याटिङमा आएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ७४ बलमा पाँच छक्का र ६ चौकाको मद्दतमा ९१ रन बनाए भने प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकाको मद्दतमा ५० रनको योगदान गरे । त्यस्तै सन्दिप सुनार ५७ बलमा ३२, रोहितकुमार पौडेल ३० बलमा २८, कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ बलमा २२ र आशिफ शेख २६ बलमा २१ रन बनाए । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्कासहित नटआउट २२ रन बनाएका हुन् ।
मलेसियामा भइरहेको प्रतियोगितामा नेपालसहित समूह ‘ए’ मा सिंगापुर, थाइल्याण्ड र भुटान तथा समूह ‘बी’ मा चीन, हङकङ, मलेसिया र म्यानमार छन् । 
हरेक समूहको शीर्ष दुईमा रहने  टिम छनौटको सेमिफाइनलमा पुग्ने छन् । फाइनलमा पुग्ने दुई टिम १९ वर्षमुनिको एसिया कपका लागि छनौट हुने भएकाले नेपालका लागि थाइल्याण्माथिको जित महत्वपूर्ण छ ।

टिमको अवस्था

समूह ‘ए’ मा रहेका नेपाल र सिंगापुरले विजयी सुरुवात गरेका छन् । नेपालले थाइल्याण्डलाई दुई सय ५५ रनले हरायो भने सिंगापुरले भुटानलाई ९ विकेटले हराएको छ । सोमबार नै भएको खेलमा भुटानले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य सिंगापुरले १४ ओभर तीन बलमा एक विकेटका जाँदा भेट्टायो । पहिलो खेल जितेका नेपाल र सिंगापुर दुवैको समान दुई अंक भएको छ । तर रन रेटका आधारमा सिंगापुर नेपाल भन्दा अघि रहेकाले समूहको शीर्ष स्थानमा छ । अब नेपालले बुधबार भुटानसँग खेल्ने छ । यस्तै बिहीबार सिंगापुर र नेपालबिच खेल हुनेछ । 
समूह ‘बी’ अन्तर्गत आइतबार नै दुई खेल भएका थिए । त्यसमा मलेसिया र हङकङले जित निकाल्दै समान दुई अंक जोडेका छन् । मलेसियाले म्यानमार तथा हङकङले चीनलाई समान ९ विकेटले हराएका हुन् । मंगलबार मलेसियाले चीन तथा हङकङले म्यानमारसँग प्रतिस्पर्धा गर्ने छन् । 

फेरिएको संरचनामा नेपाललाई उपाधि जित्ने अवसर

प्रतियोगितामा नेपाल बलियो टिमको रुपमा हेरिएको छ । सोमबारको प्रदर्शनले पनि नेपालले त्यसको छनक दिएको छ । तीनवर्ष अघि एसियाली क्रिकेट परिषदको पुनर्संरचना भएपछि नयाँ संरचनाको रुपमा यो प्रतियोगिता भएको हो । एसियाली क्षेत्रमा यसअघि यस खालको एउटै प्रतियोगिता हुँदै आएकोमा अहिले भने दुई क्षेत्र बनाएर प्रतियोगिता गरिएको हो । नेपालसहित ८ देश पूर्वी क्षेत्रमा छन् भने अफगानिस्तान, युएई, कतार, ओमान, साउदी अरेबिया, माल्दिभ्स, बहराइन, इरान र कुवेत पश्चिमी क्षेत्रमा छन् । 
नेपालले सन् २००७ मा १९ वर्षमुनिको एसिसी एलिट कपको उपाधि जितेयता उपाधि जित्न सकेको छैन । त्यसपछि दुई पटक एसिसी यु–१९ एलिट कपमा नेपाल अफगातिस्तानसँग पराजित भएको थियो । अहिले १० वर्षपछि नेपाललाई १९ वर्षमुनिको संरचनामा उपाधि जित्ने मौका छ । किनकी अहिले नेपाल रहेको क्षेत्रमा बलियो मानिएको अफगानिस्तान छैन । 

१९ वर्षमुनिको एसिया कप

१९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आउँदो नोभेम्बरमा भारतमा हुँदैछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा छनौट चरणबाट आएका चार टिम एसिया कप क्रिकेटमा खेल्ने छन् । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रको फाइनलमा पुग्ने दुई दुई टिम एसिया कपका लागि छनौट हुने छन् ।  
उज्यालो अन्लाइनबाट 
यु १९ एसिया कप छनौट क्रिकेट : नेपाललाई उपाधि जित्ने अवसर यु १९ एसिया कप छनौट क्रिकेट : नेपाललाई उपाधि जित्ने अवसर Reviewed by Anish Lamichhane on 6:37 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.