बुटवल : रूपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु भएको छ । क्रिकेट मैदान निर्माण भएपछि रात्रिकालीन क्रिकेट प्रतियोगिता गर्न सकिने भएको छ । रंगशाला परिसरमा बन्दै गरेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको सुविधाहरू हुनेछन् । राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट मैदानको विस्तृत गुरुयोजना तयार गरेर निर्माणको काम सुरु गरेको हो । मैदानका लागि छुट्याउँदै आएको बजेटको आकार वृद्धि भए आधा दशकभित्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानले पूर्णता पाउनेछ ।
'कहिलेसम्म निर्माण सकिने भन्ने कुरा विनियोजन हुने बजेटमा भर पर्छ', रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले भने, 'डीपीआर तयार भएकाले भैरहवामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने निश्चित भएको छ ।'विभिन्न उमेर समूहमा झन्डै एक दर्जन खेलाडी सहभागी हुँदै आए पनि रूपन्देहीमा अहिलेसम्म सुविधासम्पन्न क्रिकेट मैदान नहुँदा खेलाडीले सास्ती खेप्दै आएका थिए । भैरहवाको रंगशालालाई नै खेलाडीहरूले क्रिकेट मैदानका रूपमा प्रयोग गर्दै आएका थिए ।
भैरहवा रंगशालामा नै करिब ५० करोड रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बन्नेछ, जसमा १२ हजार दर्शकले खेल अवलोकन गर्न सक्नेछन् । रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने गरी मैदानको गुरुयोजना निर्माण गरिएको छ । चारवटा डेनाइट पिल्लर निर्माण गर्ने योजना छ । यिनमा जडित फ्लोड लाइटले मैदानमा दिनको जत्तिकै उज्यालो हुनेछ । यस्तो खालको मैदान राजधानीबाहिर पहिलोपटक भैरहवामा बन्न लागेको हो ।
मैदान निर्माणका लागि पाँच करोड रुपैयाँ खर्च भइसकेको छ । ०६८ सालदेखि रंगशालालाई क्रिकेट मैदान बनाउने गरी लगानी सुरु गरिएको थियो । क्रिकेट संघका अध्यक्ष मल्लका अनुसार ०६८ सालमा एक करोड १९ लाख रुपैयाँमा भवन निर्माण गरिएको छ । ०७१ सालमा ८९ लाख रकमले मैदानमा माटो राखिएको थियो ।
गत वर्ष ४० लाख खर्चेर मैदान घेरिएको छ । त्यस्तै एक करोड खर्चेर नाला र मैदान सम्माउने कामसमेत गरिसकिएकाले मैदानले आकार लिइसकेको छ । आगामी वर्षका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । अबको बजेट गुरुयोजना अनुरूपका संरचना निर्माण खर्च हुने बताइएको छ । तत्कालीन खेलकुद मन्त्रालयका सचिव सुशील राणाले निरीक्षण गरेपछि भैरहवामा मैदान निर्माण गर्ने सर्वपक्षीय सहमति भएको थियो ।
सरकारले भैरहवासहितका आठ सहरमा मैदान निर्माण गर्ने बताए पनि भैरहवाको रंगशालाको काम निकै अघि बढिसकेको छ । काठमाडैाँ, पोखरा, विराटनगर, वीरगन्ज, कोहलपुर र धनगढीमा खेलमैदान निर्माण गर्ने योजना छ ।
पहिलो चरणमा बनेको भवनमा दुई टोलीका खेलाडी बस्ने तथा ड्रेसिङ रुम तयार भएको छ । रूपन्देही क्रिकेट संघले गुरुयोजना सम्पन्न गर्न बजेट विनियोजन बढाउन माग गरेको छ । 'मल्टिएयर टेन्डर हुनुपर्छ भन्ने माग गरेका छौं', मल्लले भने, 'यसरी काम भए पाँच वर्षमा मैदान पूरा हुन्छ ।'
खेलमैदान निर्माण हुन लागेपछि खेलाडीहरू उत्साहित भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले अन्तर्राष्ट्रिय मैदानको 'युटिलाइट' गर्न सकियो भने रूपन्देहीबाट दोब्बर खेलाडी उत्पादन हुने बताए । 'खेलाडीको जजमेन्ट नै यस्ता मैदानले गर्छन्, यो यस क्षेत्रका खेलाडीका लागि महत्वपूर्ण अवसर हो', उनले भने । उनले मैदानमा खेलाडीलाई आवश्यक सुविधा प्रदान गर्ने गरी संरचना बनाउनुपर्नेमा जोड दिए ।
अन्नपूर्ण पोस्टबाट
भैरहवामा १२ हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्दै
Reviewed by Anish Lamichhane
on
2:22 AM
Rating:
No comments: